मन, अहंकार र प्रेम – अनुभवको खोज

मानिस जन्मिन्छ र उसका आँखाहरू पहिला बाहिर जान्छन् । रंग, रूप, धन, पद, प्रतिष्ठा – यही उसको संसार बन्छ । यो दौड स्वाभाविक छ । यसलाई रोक्न सकिँदैन, रोक्नु उचित पनि छैन ।

तर एक दिन त्यो क्षण आउँछ – “यति पाएँ, तैपनि खालीपन किन?”

त्यही थकानमा असली यात्राको ढोका खुल्छ ।

पहिले बाहिर, त्यसपछि भित्र

मनुष्य पहिला बाहिर नै हेर्छ । यो प्रकृतिको नियम हो । जब बाहिरको दौड समाप्त हुन्छ वा थाकिन्छ तब मात्र भित्र खोज्न थाल्छ ।

बुद्धसँग राजपाट थियो, सब थियो, जब सवै थोकबाट पिडाको अनुभव भयो तव वहाँ भित्र फर्के ।
रमण महर्षिलाई मृत्युको भय आयो – तब भित्र उत्रिए ।
हरेक जागृतिको पछाडि एउटा गहिरो अनुभव चाहिन्छ त्यो सुख वा दुखको हुन सक्छ ।

बाहिरको थकान नै भित्रको ढोका हो।

मन, अहंकार र प्रेम – के हुन् यी?

मन — संकल्प-विकल्प गर्ने शक्ति । सोच्ने, भट्किने, खोज्ने । मनको सही उपयोग विवेक हो, गलत उपयोग भ्रम र लोभ।

अहंकार — “म मात्र छु” भन्ने भाव । यसको सही उपयोग आत्मसम्मान हो, गलत उपयोग घमण्ड र युद्ध ।

प्रेम — जोड्ने भाव। आमाले पहिलो पटक बच्चालाई देखेको त्यो क्षण – कुनै शब्द थिएन, कुनै दर्शन थिएन – सिर्फ त्यो भाव। प्रेम खोज होइन, अनुभव हो।

यो पहिलो पटक भएको होइन

मन, अहंकार र प्रेमको खोज यस पृथ्वीमा भएको छ भने – यसको अर्थ पहिले पनि उन्नत सभ्यता थियो र त्यो सभ्यताको अन्त भयो – मनको भ्रमले, अहंकारको घमण्डले, प्रेमको अधिकार-भावले।

यो चक्र बारम्बार दोहोरिएको छ। सतयुग देखि कलियुगसम्म – उन्नति, अहंकार, विनाश, पुनः आरम्भ। Indus Valley, Mesopotamia, Maya – सबै उन्नत थिए, सबै नष्ट भए।

आज पनि हामी त्यही चक्र त्यही मोडमा छ – बाटो छ यो चक्रबाट बाहिर जाने तर बिना अनुभव कोइ स्वय पनि बाहिर जान खोज्दैन ।

जो बाहिरको दौडमा छ – उसलाई कसैले रोक्न सक्दैन । दौड्न देऊ । जब थाक्छ – तब आफैं सोध्छ । र जब आफैं सोध्छ – तब एउटा शब्द पनि पर्याप्त हुन्छ नत्र हजार शब्द पनि व्यर्थ छन् ।

जब अहंकार खत्म हुन्छ – तब साँचो प्रेम सुरु हुन्छ ।