देश खरानी भयो यसको चर्चा हुन्छ तर
तर स्कुलको झोला बोकेको निर्दोष बच्चाको नरसंहारको चर्चा नै हुँदैन ।
यो विडम्बना मात्र होइन, हाम्रो समाज र राजनीतिलाई ग्रसित बनाएको रोग हो। खरानी गर्नेहरू नै ती हुन् जसले नरसंहार गरे र गराए। तर आज उनीहरूकै मुखमा “देश खरानी भयो” भन्ने कुरा सबैभन्दा ठूलो पाखण्ड बनेर देखिन्छ। किन भने यो Gen Z अन्दोलनलाइ दुषित बनाएर, आफ्नो रोटी सेक्नु छ ।
सत्य के हो भने – सिंहदरबार, सरकारी कार्यालय, व्यक्तिगत होटल र पसलहरू पहिले देखि नै जलिरहेका थिए। तर हाम्रो आँखाले आज बल्ल देखेको छ । एक छिन खुलेको आँखा फेरी पार्टी र स्वार्थको कारण फेरी बन्द हुँदैछ ।
कारागारका अपराधीहरू त पहिले नै भित्र – बाहिर गरिरहेका थिए । तर हाम्रो ध्यान आज बल्ल त्यतातिर केन्द्रित भएको छ ।
त्यो पाखण्डलाई अझै गम्भीर बनाउने काम के भइरहेको छ भने — दोष र जिम्मेवारी Gen Z माथि थोपर्न खोजिएको छ । न्याय माग्ने पुस्तालाइ नै अन्यायको दोषी देखाइन्छ। यो सोचाइले नेपाली जनताको चेतना र राजनीतिक नेतृत्व दुवैको भ्रष्टता उजागर गर्छ।
नेपाली राजनीति प्रायः जिम्मेवारीबाट भाग्ने प्रवृत्तिले चलाइन्छ। अपराधीलाई ढाक्ने, निर्दोषलाई दोष थोपर्ने र घटनाको मूल जडलाई लुकाउने काम भइरहन्छ। यही कारणले समाजमा अन्याय बढ्छ, पाखण्ड बढ्छ, र अन्ततः नयाँ पुस्तामा आक्रोश बढ्छ।
यसलाई आजै बुझ्न नसकिए भने इतिहास फेरि दोहोरिन्छ । यही हुँदै आएको पनि हो । लेखेर राखौं, २०९२ मा फेरि आन्दोलन हुनेछ । त्यो आन्दोलन केवल खरानीको चर्चा गर्नेहरू विरुद्ध होइन, नरसंहारलाई ढाक्ने र निर्दोषलाई दोषी बनाउने मानसिकता विरुद्ध हुनेछ ।
अब समय आएको छ – देशलाई खरानी बनाउने हात र निर्दोषको रगत बगाउने मनसायबीच स्पष्ट भिन्नता गर्ने ।
यदि हामी फेरि आँखा चिम्लिन्छौं भने, अर्को आन्दोलन अझ भयावह हुनेछ, जसको क्षति केवल सडकमा होइन, हाम्रो चेतनामा हुनेछ ।
त्यसैले जिम्मेवारी अपराधीमाथि नै थोपर्नु पर्छ, निर्दोषमाथि होइन । यही बाटोले मात्र भविष्यलाई सुरक्षित र न्यायपूर्ण बनाउन सक्छ ।