वंशज कर: प्रवासीहरूको योगदान र मूल देशको विकास

कर भनेको कुनै पनि सरकारद्वारा आफ्ना नागरिक, व्यवसाय वा संस्थाहरूबाट विभिन्न प्रयोजनका लागि अनिवार्य रूपमा उठाइने आर्थिक शुल्क हो । कर राज्य सञ्चालन, विकास परियोजना, सार्वजनिक सेवा (स्वास्थ्य, शिक्षा, सुरक्षा, आदि) र समाजको समग्र उन्नति गर्नका लागि मुख्य स्रोत हो । सरकारले विभिन्न प्रकारको कर लगाउने गर्छ । कर तिर्नु नागरिकको जिम्मेवारी हो, जसबाट राज्यले समाजको समृद्धि र विकासका लागि विभिन्न सेवा प्रदान गर्दछ ।

वंशज करको अर्थ कुनै व्यक्तिको मृत्यु पश्चात्, उनको सम्पत्ति उसको उत्तराधिकारी (वंशज) मा हस्तान्तरण हुँदा लागू हुने करलाई भन्न सकिन्छ । नेपालको वर्तमान कर प्रणालीमा वंशज करको व्यवस्था खासै देखिँदैन तर सम्पत्ति हस्तान्तरणमा लाग्ने कर, जस्तै घरजग्गा रजिष्ट्रेशन शुल्क अप्रत्यक्ष रूपमा वंशज करको भूमिकामा छ ।

यहाँ मैले जुन वंशज करको कुरा गर्न गइरहेको छु त्यो देश भित्र वस्नेलाइ होइन, विदेशमा वस्ने नागरिकलाइ हो । नेपाली नागरिकता भएका नागरिक जसले विदेशमा नोकरी, व्यापार वा अन्य काम गर्छ जसबाट उसले आम्दानी गर्छ । उबाट कर, दान, सहयोग वा अनुदान भनेर केही रकम देशको विकासको लागि देशमा आउन्छ भने देश विकासमा सहयोग पुग्ने छ ।

प्रवासीहरूले आफ्नो मूल देशका लागि गर्ने आर्थिक योगदानलाई व्यवस्थित गर्न र त्यसलाई विकासमा लगानी गर्नका लागि प्रस्तावित वा लागू हुने करलाई वंशज कर भन्न सकिन्छ । यो करले विशेष गरी विदेशी भूमिमा बसोबास गर्ने आफ्ना नागरिकहरूलाई आफ्नो मातृभूमिसँग आर्थिक रूपमा जोड्ने र राष्ट्रको प्रगतिमा सहभागी गराउने लक्ष्य राख्छ ।

यसलाइ यसरी पनि बुझन्, विदेशी भूमिमा स्थायी वा अस्थायी रूपमा बसोबास गर्ने नागरिकहरूले आफ्नो मूल देशको सामाजिक, आर्थिक, र भौतिक पूर्वाधार विकासका लागि तिर्ने कर । यसलाई प्रवासी कर (Diaspora Tax)  वा विदेशमा बसोबास गर्ने नागरिक कर (Overseas Citizen Tax) पनि भनिन्छ ।

प्रवासीहरूले आफ्नो मूल देशको विकासका लागि तिर्ने कर वा स्वैच्छिक योगदानको बदलामा सरकारले विभिन्न प्रकारका सुविधा र सुरक्षाहरू प्रदान गर्न सक्ने व्यवस्था गर्नु पर्छ । यसले प्रवासी वा विदेशमा काम गर्नेहरूलाई आर्थिक र सामाजिक रूपमा सुरक्षित बनाउनुका साथै मातृभूमिसँगको सम्बन्ध अझ बलियो बनाउन सहयोग गर्दछ ।

यो कर तिरे वापत प्राप्त पाउने सुविधा र सुरक्षाहरू जस्तै

  • प्रवासी बीमा (Diaspora Insurance),
  • आपतकालीन राहत सहायता (Emergency Relief Assistance),
  • स्वास्थ्य उपचार सुविधा,
  • सामाजिक सुरक्षा कोष (Social Security Fund),
  • पुनःस्थापना कार्यक्रम (Reintegration Program),
  • परिवारका लागि सुरक्षा,
  • विशेष सुविधा र प्रोत्साहन (लगानीमा कर छुट, घरजग्गा खरिदमा सहुलियत, द्वैध नागरिकता (Dual Citizenship) का केही सुविधा)

प्रवासीहरूले तिरेको कर वा स्वैच्छिक योगदानको बदलामा यस्ता सुविधा र सुरक्षाहरू प्रदान गर्दा उनीहरूमा विश्वास र मातृभूमिप्रति समर्पण बढ्छ । प्रवासीहरूको योगदानले मूल देशको विकास मात्र होइन, उनीहरूकै जीवनलाई सुरक्षित र सम्मानजनक बनाउँछ ।

“प्रवासीहरूको लगानीले राष्ट्र विकास र प्रवासी सुरक्षाबीचको सन्तुलन कायम राख्न आवश्यक छ।”

वंशज कर वा प्रवासी करले मातृभूमि र विदेशमा बस्ने नागरिकबीचको सम्बन्ध बलियो बनाउन सक्छ । यस्तो स्वैच्छिक लगानी र सुविधा विनिमय प्रणालीले मात्र दिगो र विश्वसनीय प्रवासी योगदान सुनिश्चित गर्न सक्छ – जबरजस्ती होइन, माया र विश्वासको आधारमा यो राष्ट्रको आर्थिक विकास र समृद्धिका लागि एक महत्त्वपूर्ण आधार बन्न सक्छ ।

“जहाँ जरा छन्, त्यहीँको माटो उर्वर बनाउन प्रवासीहरूको योगदान अनिवार्य छ।”

आफूसँग भएको पैसाको लगानी, घर फर्कने चाहना र मानसिक असन्तुष्टिका कारण लाखौं मानिसहरू आफ्नो मूल देश फर्कने सोचमा छन् । यसलाई विभिन्न सामाजिक, आर्थिक र मानसिक पक्षबाट बुझ्न सकिन्छ । भविष्यमा यी तत्वहरूको कारण यो स्पष्ट हुन्छ कि यस्ता प्रवृत्तिहरू मुलुकहरूका लागि चुनौती र अवसर दुवै हुनेछन् ।

देश फर्कने भावना केवल सामाजिक या पारिवारिक कारण मात्र नभई आध्यात्मिक र राष्ट्रिय पहिचानसँग पनि जोडिएको छ । धेरै प्रवासीहरू आफ्नो मुलुकसँगको भावनात्मक कनेक्शनलाई अत्यधिक महत्त्व दिन्छन् । विश्वभरिका प्रवासीहरूले आफ्नै मुलुकमा नवीनतम व्यवसायका अवसरहरू सिर्जना गर्ने सोच राख्न सक्छन् । यस्ता प्रवृत्तिहरू टेक्नोलोजी, बैंकिंग, पर्यटन र सामाजिक उद्धारका अवसरमा आधारित हुन सक्छ ।

देशभित्र बस्दा हामी अक्सर त्यसको महत्व र सुन्दरता नबुझेका हुन्छौं, किनकि हामीलाई त्यो सबै सामान्य लाग्छ । तर जब हामी देश बाहिर जान्छौं भने, हाम्रो गहिरो लगाव र प्रेम उब्जन्छ, र हामीलाई हाम्रो देशको महत्व र विशेषता महसुस हुन्छ।

यसलाई माछाको उदाहरणसँग जोड्दा, माछा पानीमा सुरक्षित र स्वतन्त्र महसुस गर्छ, तर जब त्यसलाई पानीबाट बाहिर निकालिन्छ, तब त्यसले पुनः पानीमा जानको लागि छटपटी गर्छ । यस्तै हामी पनि जब हाम्रो घर, देश, वा परिचित वातावरणबाट टाढा पुग्छौं, तब हामीलाई ती स्थान र कुराहरुको महत्त्व बढी अनुभूत हुन्छ ।

यसले यो पनि देखाउँछ कि हामी प्रायः त्यतिखेर नै केहि कुरा कद्र गर्न थाल्छौं जब हामी त्यसबाट टाढा पुग्छौं, र तब हामीलाई त्यसको गहिरो महत्व र चाहना बढ्छ।

प्रवासी र स्थानीय नागरिकहरूको बीचमा मनमुटाव घटाउने पनि यस प्रकारको करले सहयोग गर्ने छ । प्रवासीहरूले आफ्नो मातृभूमिको आर्थिक समृद्धिमा योगदान गर्दै देशका विकास कार्यमा सहयोग पुर्याउँदा, स्थानीय नागरिकहरूले यसको मूल्य र महत्त्व बुझ्न र त्यसमा भाग लिन उत्साहित हुनेछन् । यसले समाजमा एकता र सहयोगको भावना सृजना गर्छ र मनमुटावको मुद्दालाई धेरै हदसम्म घटाउन मद्दत पुर्याउँछ ।